नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा, तस्वीर : नेपाल चेम्बर अफ कमर्स


काठमाडौं — नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रको साझा सडक सञ्जाल बनाउन आग्रह गरेको छ । नेपाल चेम्बरले नेपाललगायत भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान, थाईल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तारका लागि पहल गर्न भारतीय पक्षसँग आग्रह गरेको हो ।

नेपाल चेम्बरले सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा र नर्थ इस्ट डिभेलपमेन्ट फाईनान्स कर्पोरेशनका वरिष्ठ सल्लाहकार अवजितकुमार बेजबारुवासँग आज भएको भेटमा बिम्स्टेक राष्ट्रमा सडक पूर्वाधार विकाससँगै व्यापारिक वातावरण सहज बनाउन पनि आग्रह गरेको छ ।

सडक सञ्जाल बलियो बनाएर व्यवसायिक बातावरण सहज बनाउन सकिए आर्थिक रुपमा बिम्स्टेका सदस्य सवै राष्ट्रले ठूलो लाभ प्राप्त गर्न सकिने उल्लेख गर्दै नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दक्षिण एसियाली राष्ट्रमा सडक पूर्वाधार विकास गरेर आर्थिक विकासको साझा लक्ष्य प्राप्त गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

भारतसँगको चरम व्यापार घाटा न्यूनीकरणका लागि नेपालको निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिंदै अध्यक्ष मल्लले दुई मुलुकबीचको सीमा नाकाहरुमा सहजीकरण, सडक सञ्जालको स्तरोन्ती गरेर व्यवसायिक वातावरण बनाउनुपर्ने बताउनु भयो । भेटका क्रममा चेम्बरका अध्यक्ष मल्लले भारतसँग नेपालको व्यापार घाटा ७० प्रतिशतको हाराहारीमा रहेको भन्दै नेपालले वस्तु निर्यात गर्दा हुने कठिनाई अन्त्य गर्नका लागि पहल समेत आग्रह गर्नुभयो ।

नेपालको विद्युतलाई भारत र बङ्गलादेशमा सर्वसुलभ निर्यात गर्न सक्ने वातावरण निर्माणका लागि पनि पहल गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष मल्लले सिक्किम, दार्जलिङमा नेपाली भाषीहरुको बाहुल्य रहेका क्षेत्रमा नेपालबाट स्थानमा व्यापारको सम्भावना दुवै देशले खोज्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन, जलविद्युत, भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि गर्न आग्रह गर्दै भारतीय प्रतिनिधि समक्ष नेपाल भारतबीचको दुईपक्षीय व्यापारिक सम्वन्धलाई बलियो बनाउन आफुहरु प्रयासरत रहेको अध्यक्ष मल्लले उल्लेख गर्नुभयो । सो भेटवार्तामा चेम्बर पदाधिकारीले नेपाली व्यापारीले भारतमा निर्यात गर्दा भोग्नुपरेको समस्याको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

नेपाल भारत प्रवुद्ध समूहका कार्यदल समेत रहेका सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार लामाले बिम्स्टेका राष्ट्रमा साझा सडक सञ्जालका लागि सम्भाव्यता अध्ययन भइरहेको बताउँदै नेपाल भारत लगायतका राष्ट्रमा भौतिक पूर्वाधार निर्माणमार्फत व्यापारिक गतिविधि विस्तारबारे केन्द्रीय स्तरमै छलफल भइरहेको जानकारी गराउनु भएको थियो । सो भेटमा सल्लाहकार लामाले सीमामा नेपाली व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि आफुले पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।