एजेन्सी — अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा घरको छाना खस्दा चार जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् । चरकेन्ट जिल्लाको पहाडी कोरिक गाउँमा सोमबार अबेर राति भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित एकै परिवारका चार जनाको मृत्यु भएको थियो भने महिला तथा बालबालिकासहित १८ जना घाइते भएका थिए ।

यस्तै घटनामा, पूर्वी कुनार प्रान्तको शिगल जिल्लामा आइतबार भारी हिमपातका कारण घरको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको छ । सो दुर्घटनामा पीडितका आमाबाबु सहित छ जना घाइते भएको पनि प्रान्तीय सरकारी अधिकारी एहसानुल्लाह एहसानले उल्लेख गरेका छन्।

युद्धग्रस्त अफगानिस्तानको ग्रामीण क्षेत्रमा प्रायः घरहरू माटोले बनेका हुन्छन् जुन भारी हिमपात, अविरल वर्षात् र अन्य यस्तै प्राकृतिक प्रकोपहरूको जोखिममा पर्ने गर्छन् ।