रुपन्देही– लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट अलग्गिएको छ । यही माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो ।

लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारले प्रतिष्पर्धा गर्दैछन् । माघ ११ गते उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएको हो । नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको स्पष्ट पार्नुभएको छ । सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ । त्यस्तै, विपक्षी दल नेपाली काङ्ग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ ।

एमालेबाट रोल्पाका कुमार दसौदी, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र काङ्ग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ । नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै चुनाव चिन्ह प्रदान गरिएको जनाउनुभएको छ ।

राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन्। जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन्।