बुटबल – आगामी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुन लागेको हो । निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारलाई चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार एमालेबाट कुमार दसौती, नेपाली काङ्ग्रेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय रहनुभएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरेर तीन सय पाँच जना मतदाता रहेका छन्। जसमा दुई सय १८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्य छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।