म्याग्दी — मार्ग खुलेको २७ वर्षपछि म्याग्दीको बेनी–गलेश्वर सडक स्तरोन्नति र कालोपत्र गर्न सुरु भएको छ । जिल्ला सदरमुकाम अवस्थित बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक वि.सं.२०५३ मा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो ।

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर ९बेनी–जोमसोम–कोरला० सडक आयोजनाले बेनी–गलेश्वर सडकलाई पूर्ण रुपमा विस्तार र स्तरोन्नतिसँगै कालोपत्र गर्न लागेको हो । आयोजनासँग २०७९ पुष १७ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले पहिलो चरणमा सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउन शुरु गरेको छ ।

२ किलोमिटर १०२ मिटर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग भ्याट र पिएस एसहित रु। १२ करोड २५ लाख ९४ हजार ४३६ मा सम्झौता भएको बेनी जोमसोम कोरला सडक आयोजनाले जनाएको छ । दुई बर्षको अवधीमा ११ मिटर फराकिलो बनाइने सडकमा नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट बनाएर ८ मिटर चौडाईमा कालोपत्र गरिने भएको छ ।