फाइल तस्वीर
खलङ्गा — जुम्लामा लगातार दुई दिन वर्षा र हिमपात हुँदा त्यहाका किसानहरु खुसी भएका छन् । वर्षा र हिमपातले हिउँदे बाली सप्रिने भन्दै उनीहरु खुसी भएका हुन् ।

जुम्लामा मङ्गलबार र बुधबार गरी दुई लगातार पानी पर्नुको साथै हिमपात भएको थियो । वर्षा र हिमपातले हिउँदे बाली तथा स्याउका बिरुवा राम्रो हुने भन्दै किसानहरु खुसी भएका हुन् ।

आकाशे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपातले फाइदा पुगेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

सिँचाईको अभावले हिउँदे बाली लगाउन समस्या भइरहेका बेला परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरुवा लगाउन सहज भएको स्थानीय बताउछन् ।

समयमा पानी नपर्दा गहुँ, जौ तथा बेमौसमी तरकारीलगायतका बाली सुकेर किसानहरु चिन्तित भएका थिए ।

जुम्लालगायत माथिल्लो कर्णालीमा भएको भारी हिमपातका कारण हवाई सेवा बन्द हुदाँ यात्रुलाई सास्ती भएको थियो ।

जुम्ला विमानस्थलमा जमेको हिउँ बिहीबार बिहानदेखि नेपाली सेना, प्रहरी र सशस्त्र बले हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको नागरिक उडान प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको उच्च भेगमा करिब दुईदेखि तीन फिटसम्म हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । बिहीबारदेखि मौसम सफा भएपछि विस्तारै जाडो कम हुँदै गएको छ ।