काठमाडौं – माया खोला हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो ।

हाइड्रोपावरले आफ्ना जारी पूँजी १ अर्बको ३४ प्रतिशत साधारण सेयर बिक्री गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँ अङ्कित ३४ करोडको सेयर स्थानीय, वैदेशिक रोजगारीमा गएकाहरु, सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई बिक्री हुनेछ । जसमध्ये स्थानीय क्षेत्रका आयोजना प्रभावितका लागि १० लाख कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, वैदेशिक रोजगारीमा गएकाहरुलाई २ लाख ४० हजार कित्ता सेयर छुट्याइएको छ । यसका साथै, १ लाख २० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ४२ हजार कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहने १९ करोड रुपैयाँ बराबरको १९ लाख सेयरमा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई बाँडफाँट गरेपछि सर्वसाधारणलाई बिक्री खुलाउनेछ ।