पत्रपत्रिकाबाट

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल सामग्री खरिद गरेको झुट्टो बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिने दिने कार्य गरेको आरोपमा दुई कर्मचारीविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जिल्ला स्वास्थ्य कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख अंगदबहादुर शाही र तत्कालीन स्टोरकिपर गोविन्द खनाललाई प्रतिवादी बनाई सो मुद्दा दायर गरेको हो ।

त्यस विषयमा परेको उजुरीको छानबिन गरी मुद्दा दायर गरिएको आयोगका श्यामप्रसाद भण्डारीले जानकारी दिए । प्रमुख शाही र जिल्लाका अन्य कार्यक्रम सुपरभाइजर, लेखा प्रमुख, स्टोर प्रमुखको मिलेमतोमा कार्यालयमा सामान नल्याई फर्जी खरिद बिल बनाइएको थियो । त्यसको दाखिला आदेश तयार गरी बिल मात्र खरिद गरी कार्यालयको सञ्चालन बजेट खर्च गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए ।

उनले भने– ‘फार्मेसीबाट युटुलिटी ग्लोभ्ससमेतका मेडिकल सामग्रीहरू खरिद नै नगरेको अवस्थामा मेडिकल सामग्रीहरू खरिद गरेको झुट्टा बिल भरपाई कागजातहरू तयार गरी भुक्तानी लिने दिने कार्य गरेको पुष्टि भएको छ ।’ (आजको नेपाल समाचारपत्र दैनिकबाट)