हेटौंडा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलको नेतृत्वको बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री जमरकट्टेलले ११ सदस्यीय मन्त्रिपरिषद्मा बाँकी सदस्य नियुक्ति गर्नुभएपछि बागमती प्रदेश सरकारले पूर्णता पाएको हो ।
मुख्यमन्त्री जमरकट्टेलले सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोक्नुभएको छ । आज बुधबार नियुक्त हुनुभएका मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराउनु भएको थियो ।
मुख्यमन्त्री जमरकट्टेलको नेतृत्वको मन्त्रिपरिषद्मा नेपाल समाजवादी पार्टीका गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानून मन्त्रालय, माओवादी केन्द्रका युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रालय र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
यसैगरी एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रालय, केशवप्रसाद पोखरेलले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकलाल श्रेष्ठले श्रम रोजगार तथा यातायात मन्त्रालय, रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, डम्बर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु विष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बागमती प्रदेशको १३ मन्त्रालयबाट २ वटा घटाइ ११ वटा मन्त्रालयमा सीमित गरिएको छ ।