तनहुँ — गण्डकी र लुम्बिनी प्रदेश जोड्ने गरी तनहुँमा निर्माणाधीन मोटरेबल पुलको निर्माण तीव्र गतिमा अघि बढाइएको छ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ सो पुलले जोड्ने छ । पुलको हालसम्म ५२ प्रतिशत काम सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले जानकारी दिनुभएको हो ।

सङ्घीय सरकारको रु २४ करोडको लागतमा पुल निर्माण सुरु भएको हो । आर्थिक वर्ष ०७३/७४ मा सम्झौता गरी आव ०७९/८० असार मसान्तभित्र सम्पन्न गर्ने गरी शर्मा एन्ड कम्पनी युनाइटेड बिल्डर्स एन्ड रमण जेभीले ठेक्का सम्झौता भएको जनाइएको छ ।

हालसम्म तनहुँतर्फ तीन पाल्पामा एक र नदीको बीच भागमा एक पिल्लर निर्माण भएको छ । नदीमा बाँध बाँधेर नदीको बहावलाई परिवर्तन गरी निर्माण भइरहेको उहाँले बताउनुभयो । पुलको लम्बाइ दुई सय १० र चौडाइ १०/५० मिटरको हुनेछ । निर्माण समितिका सचिव डानस मल्लले सो स्थानमा केही वर्षअघि झोलुङ्गे पुल निर्माण गरिएकोे जानकारी दिनुभयो ।