फाइल तस्वीर
धनुषा – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट समानुपातिक प्रणालीबाट निर्वाचित दुई जना सांसद्ले शपथ लिएका छन् । मधेश प्रदेशको प्रदेशसभा सचिवालयमा आयोजित एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रकी मालाकुमारी कर्ण र रैजी हैदरले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको उपस्थितिमा प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले दुवै जना प्रदेशसभा सदस्यलाई शपथ गराउनुभएको छ । प्रदेशसभा सदस्य कर्णले मैथिलीमा र हैदरले उर्दू भाषामा शपथ लिनुभएको छ ।

दुवै जनाले शपथ ग्रहण गरेपछि प्रदेशसभाका सभामुख मण्डल, मुख्यमन्त्री यादवसहित शपथ ग्रहण कार्यक्रममा उपस्थित मन्त्री र संसदीय दलका नेताहरुले दुवैजना प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना दिनुभयो । नेकपा माओवादी केन्द्रकी प्रदेश सांसद मालाकुमारी कर्ण केहीसमय पत्रकारिता पेशमा सम्लग्न हुनुहुन्थ्यो ।

यी दुवै प्रदेश सांसद्विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको कारण पुस १५ गतेको शपथ ग्रहण कार्यक्रममा उहाँहरु शपथ ग्रहण कार्यक्रममा सहभागी हुनुभएको थिएन । मुद्दा किराना नलाग्दासम्म निर्वाचन आयोगले प्रदेशसभालाई पत्राचार गरेर उहाँ दुवैजनाको शपथ ग्रहण रोक्न भनिएको थियो ।

दुवै जनाको मुद्दाको छिनोफानो सर्वोच्च अदालतले गरिदिएका कारण आज उहाँहरुलाई शपथ ग्रहण गराइएको हो । दुवै जनाले आज शपथ लिएपछि प्रदेश सभामा अब १०७ जना प्रदेशसभा सदस्यको सङ्ख्या पूरा भएको छ । आज शपथ ग्रहण गर्नुभएका दुवै सांसदले मधेश प्रदेश र यहाँका जनताको समृद्धि र विकासका लागि आवश्यक कानुन र नीति निर्माणमा इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।