धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले बाजुरा केन्द्रबिन्दु भएर मङ्गलबार गएको भूकम्पबाट पीडीतहरूलाई तत्काल उद्धार गर्न र राहत उपलब्ध गराउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री रावलले प्रदेश मुख्यसचिव, समाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीहरूलाई सम्पर्क गर्दै उद्धार र राहतका लागि निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री रावलले तत्काल क्षतिको विवरण सङ्कलन गर्न पनि निर्देशन दिनुभएको छ । क्षतिको विवरण आउनेबित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उहाँको सचिवालयले जनाएको छ । ५ दशमलव ९ रेक्टरस्केलको भूकम्प जाँदा बाजुरामा दुई दर्जन भन्दा बढी घरहरूमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार अहिलेसम्म एक जनाको मृत्यु र एक जना घाइते भएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार भूकम्पबाट केही घरहरू र सरकारी भवनहरूमा क्षति भएको छ ।