काठमाडौं – बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार आज हुँदैछ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज बुधबार नयाँ मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको हो ।

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज दिउँसो २ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण गर्नेबारे सहमति भएको बताएको छ । यद्यपि, मन्त्रिपरिषद्लाई पूर्णता दिने वा नदिने बारे टुङ्गिएको छैन । मन्त्री बन्ने आकाङ्क्षीहरूको संख्या धेरै भएकाले सरकारमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपालाई मन्त्री छान्न सकस परेको हो ।

नेकपा एमालेले पाँच वटा, माओवादीले चार वटा, राप्रपाले तीन वटा, नेकपा एकीकृत समाजवादीले दुई वटा र हाम्रो नेपाली पार्टीले एक मन्त्रालय मागेका छन् । मन्त्रिपरिषद् बैठकले ११ वटा मन्त्रालय राख्ने स्वीकृत गरेसँगै भागवण्डामा तलमाथि हुने भएको छ ।