फाइल तस्वीर
बाजुरा – सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जिल्लाका विभिन्न स्थानमा क्षति पुगेको छ । आज दिउँसो २:४३ बजे गएको भूकम्पका कारण घरहरु भत्किएको बाजुरा जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।


भूकम्पबाट मानवीय क्षति भए नभएको विवरण भने प्राप्त भएको छैन । प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएका छन् ।


नगरपालिकाकै वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तै बझाङ जिल्लाको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले केही घरहरुमा क्षति पुगेको छ । त्यहाँका घरहरु चर्किएका छन् । आज मङ्गबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका धक्का कर्णाली र सुदूरपश्चिमसहित भारतसम्म महसुस भएको जनाइएको छ ।