फाइल तस्वीर
काठमाडौं – स्पट फिक्सिङको आरोपमा प्रहरीले सोमबार पक्राउ गरेका राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलमले स्पट फिक्सिङ गरेको अनुसन्धानबाट पत्ता लागेको छ । नेपाल टी–२० लिगको दुई खेलका दुई वटा ओभरमा क्रिकेटर आलमले स्पट फिक्सिङ गरेको पत्ता लागेको हो ।


प्रतियोगिताको खेल नम्बर ८ र खेल नम्बर १२ मा फ्रेन्चाइज टिम जनकपुर रोयल्सबाट खेलेका आदिलले फिक्सरसँगको सहमति कार्यान्वयन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

गत पुस १२ गते काठमाडौं नाइट्सविरुद्धको खेलमा आदिलको एउटा नो बल त्रिवि मैदानमा पुगेर प्रत्यक्ष हेर्नेहरुका लागि पनि उनीहरुको खेल अस्वभाविक थियो । आलमले ११.१ ओभरमा नो बल फालेका थिए । त्यस लगत्तै अर्को बल वाइड फालेका थिए । सो खेलमा आदिलले ४ ओभर बलिङ गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । जहाँ दुई वाइड र एक नो बल सामेल थियो ।

यसैगरी पुस १४ गते जनकपुरको खेल फारवेष्ट युनाइटेडविरुद्ध थियो । सो खेलमा पनि आदिलले एक ओभरमात्र बलिङ गर्न पाए । पावर प्लेको अन्तिम ओभरको पहिलो बल उनले नो बल फाले । लगत्तै वाइड बल पनि फालेका थिए । यस ओभरमा आदिलले त्यही गरेका थिए, जुन दुई दिनअघि काठमाडौं नाइट्सविरुद्धको खेलमा १२औं ओभरमा गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीसँगको बयानमा उनले आफूलाई कसले फिक्सिङको प्रस्ताव गरेको र कति रुपैयाँको सहमति भएको भन्नेबारे नखुलाएको प्रहरीको भनाइ छ । प्रहरीले सोमबार गृहनगर सप्तरीको राजविराजबाट आदिमलाई पक्राउ गरेको थियो ।