फाइल तस्वीर
काठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवा सुरु गरेको छ । वाणिज्य बैंक लिमिटेड ५८ औं वर्षमा प्रवेश गरेसँगै यो सेवा सुरु गरेको हो ।

बैंकको वार्षिकोत्सवमा आयोजित कार्यक्रमा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठल नेपाली बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंक सबल, सुदृढ र अग्रणी स्थानमा रहन सफल भएको दावी समेत गर्नुभयो ।

बैंकले अधिकतम स्रोत परिचालन तथा व्यवसाय विस्तार, निष्क्रिय कर्जा व्यवस्थापन, रि–ब्रान्डिङ तथा प्रविधिमा सुधारलगायतमा काम गरेको भन्दै विगतमा विभिन्न उतारचढाव भोगे पनि पछिल्ला वर्षमा वित्तीय सूचकाङ्क र व्यवस्थापनमा उल्लेख्य सुधार गर्न सफल भएको सीईओ श्रेष्ठले दावी गर्नुभयो ।

बैंकको वित्तीय अवस्था सुधारका लागि पाँच वर्षे रणनीतिक योजना तर्जुमा गरी व्यवस्थापन र मानव संशाधन अडिटलगायतका काम गरेको जानकारी गराउँदै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एनआईडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनीका रुपमा आरबीबी मर्चेन्ट सञ्चालन, नेपाल टेलिकमसँगको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीको स्थापना र सञ्चालन बैंकको उपलब्धी रहेको उल्लेख गर्नुभयो ।

बैंकिङ गत आर्थिक वर्ष २०७८÷७९ मा लगानीकर्तालाई १२ दशमलव पाँच प्रतिशत लाभांश वितरण गरेको छ । बैंकको कुल चुक्ता पुँजी रू १५ अर्ब ६३ करोड छ भने देशका सबै जिल्लामा गरी दुई सय ६५ वटा शाखा कार्यालय, दुई सय ६९ वटा एटीएम, ५१ वटा एक्स्टेन्सन काउन्टरमार्फत् सेवा प्रवाह गरिरहेको छ ।

कुल ३८ लाख ६१ हजार ग्राहक सङ्ख्या भएको बैंकका एटीएम प्रयोगकर्ता सात लाख पाँच हजार, मोबाइल बैकिङ प्रयोगकर्ता १५ लाख ७१ हजार, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ता २० हजार पाँच सय र क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्ने प्रयोगकर्ताको संख्या २५ हजार पाँच सय रहेको कार्यक्रममा जानकारी दिइयो ।

चालू आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक अवधिसम्ममा बैंकको निक्षेप सङ्कलन रू दुई खर्ब ७२ अर्ब, कर्जा प्रवाह रू दुई खर्ब ३४ अर्ब र नेटवर्थ रू ३४ अर्ब ३४ करोड पुगेको छ । बैंकको निष्क्रिय कर्जा दुई दशमलव ७९ प्रतिशत, आधारदर नौं दशमलव २९ प्रतिशत र कर्जा निक्षेप अनुपात ८१ दशमलव ६५ प्रतिशत छ ।

चालू आर्थिक वर्षको अन्त्यसम्ममा कुल निक्षेप रू तीन खर्ब, कुल कर्जा रू दुई खर्ब ५८ अर्ब, मुनाफा रू चार अर्ब ९७ करोड बनाउने बैंकको लक्ष्य छ । त्यस्तै शाखा सङ्ख्या तीन सय, ग्राहक सङ्ख्या ३९ लाख ७१ हजार पु¥याउने पनि बैंकको लक्ष्य छ ।