काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीको विकासमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा सरकारले पर्याप्त ध्यान दिनुपर्ने बताउनु भएको हो ।

कर्णालीको विकास राज्यकोप्राथमिकतामा छैन भन्ने उदाहरण कर्णाली राजमार्ग हो भन्दै उहाँले उक्त राजमार्गलाई वैकल्पिक राजमार्गका रुपमा अघि बढाउन बजेट व्यवस्थापन गर्न माग गर्नुभयो ।

सांसद शाहीले जुम्लीको विकाससँग जोडिएको जुम्ला विमानस्थलको स्तरोन्नति गरिनुपर्ने खाँचो औँंल्याउनुभयो । उहाँले मुलुकमा विधिको शासन कायम गर्न सबै गम्भीर हुनुपर्नेमा समेत जोड दिनुभयो ।

बैठकमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद अशोक राईले संसद्को प्रभावकारिता र गरिमा बढाउन नवनिर्वाचित सभामुख र उपसभामुखले सक्रिय भूमिका खेल्नुहुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “संसद्को गरिमा, प्रतिष्ठा र प्रभावकारिता बढाउन र संसदप्रतिको आकर्षण बढाउन सभामुख र उपसभामुखको महत्वपूर्ण भूमिका हुन्छ ।” उहाँले सदनलाई आवाजविहीनको आवाज व्यक्त हुने वातावरण बनाइनुपर्नेमा जोड दिनुभयो ।