साङ्केतिक तस्वीर

दमौली – तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले सर्तपालन नगरेको भन्दै थापाले उनीहरूलाई कुटपिट गरेका हुन् ।

उक्त होस्टलमा बसेर पढ्दै आएकी भीमाद नगरपालिका–४ बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा घाइते भएकी थिइन् । लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराले जनाएको छ ।

आफ्नै छोराछोरी सम्झेर राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रधानाध्यापक थापाको भनाइलाई उद्धृत गर्दै प्रहरीले बताएको छ । अन्य विद्यार्थीको अवस्था सामान्य रहेकोछ । होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजाय स्वरुप पिटेको स्वीकार प्रधानाध्यापक थापाले गरेका छन् ।

घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए । गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिकोसर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले जानकारी दिएका छन् । कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।