धनुषा —उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् । भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि आज सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।

आइतबार बिहान साढे २ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २२ वर्षीय विष्णु साहको शव फेला परेको थियो । घटनाको बारेमा बताउँदा समेत प्रहरीले बेवास्ता गरेको पीडित पक्षको आरोप छ । उनीहरूको शव फेला परेपछि मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन गरेका हुन् ।

भारतको सितामढी जिल्ला बेला परिहारमा गाडिएको अवस्थामा फेला परेका थिए । गत पुस २७ गते नै भारतमा आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएको केही दिनपछि साहका परिवारले प्रहरीलाई खबर गरेको थियो । भारतीय प्रहरीसँग समन्वय गरी प्रहरीले अनुसन्धान गरिरहँदा उनीहरूको शव फेला परेको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नेपाल र तीन जनालाई भारतबाट पक्राउ गरेको थियो ।