काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से १३ दशमलव ७१ अङ्कले घटेर २१६५ दशमलव १० बिन्दुमा झरेको हो ।

आज कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ भने नेप्सेसँग कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स २ दशमलव ०५ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ९१ अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ६५ अङ्कले घटेको छ । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ उपसमूहको परिसूचक १ दशमलव ०८ अङ्कले बढेको छ । तर यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा गिरावट आए ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । आज कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।