फाइल तस्वीर
म्याग्दी — म्याग्दीको मङ्गला गाउँपालिका –२ काफलचौरमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । थाइबाङबाट बेनीतर्फ जाँदै गरेको ग १ ज ६९३८ नम्बरको जिप दुर्घटना भएको हो ।

उक्त जिपमा सवार एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएका छन् । दुर्घटनामा परी मृत्युहुने मङ्गला गाउँपालिका –१, की ५० वर्षीया फौमाया गर्बुजा भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार सोमबार बिहान ११:२० बजेको समयमा थाइबाङबाट बेनीतर्फ आउनेक्रममा रोकेर राखेको उक्त बोलेरो जिप पल्टिन पुगेको थियो । सामान राख्नेक्रममा रोकी राखेको बेला उक्त जिप आफै करिब एक मिटर गुडेर सडकमा पल्टिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी गर्बुजालाई उपचारका लागि बेनी अस्पताल ल्याइएको र अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो ।

उक्त जिपमा चालकसहित ९ जना सवार थिए । प्रहरीका अनुसार घाइते भएकामध्ये मङ्गला २ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी केसी र ५ वर्षीय रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाइतेको बेनी अस्पतालमा उपचार भैरहेको छ । जिपका चालक न्युप्रसाद पुर्जालाई प्रहरीले नियन्त्रणमा लिइ छानविन गरिरहेको प्रहरीको भनाइ छ ।