फाइल तस्वीर
काठमाडौं — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जना नेपाली क्रिकेट खेलाडीलाई पक्राउ गरेको छ । राष्ट्रिय क्रिकेट टीमका खेलाडी आदिल अन्सारी र पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ गरेको हो ।

आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको बताइएको छ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । उक्त लिगमा म्याच फिक्सिङ गरेको केही खेलाडीहरुले खुलासा गरेका थिए ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेकाहरुविरुद्ध राज्यविरुद्ध कसुर अभियोगमा अनुसन्धान हुने भएको छ । सीआईबी स्रोतका अनुसार स्पट फिक्सिङमा मुलुकी अपराध संहिता र राष्ट्रिय खेलकुद विकास ऐन आकर्षित हुन्छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्पट फिक्सिङमा चार नेपाली र ६ विदेशी संलग्न भएको अनुसन्धानबाट निष्कर्ष निकालेको छ । उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारीसहित ३ जना पक्राउ परेको सिआइबीले जनाएको छ ।
मुलुकी अपराध संहिताको दफा ५१ (३) मा नेपालको प्रतिनिधित्व गरी नेपाल वा विदेशमा हुने खेलमा मिलोामतो गरे राष्ट्रहित विरुद्धको कसुर भएको मानिने उल्लेख छ । यसमा दोषी ठहर भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवना हुने उल्लेख छ ।

राष्ट्रिय खेलकुद विकास ऐनमा भने मिलेमतो गरेमा ३ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । साथै लेनदेन भएको रकम पनि जफत गरिने ऐनमा उल्लेख छ । यस्तो कसूर गर्न आदेश वा निर्देशन दिने, त्यस्तो कसूर गर्न दुरुत्साहन दिने, उक्साउने वा मद्दत गर्नेलाई पनि यही सजाय हुनेछ । यस्तो कसूर गर्ने व्यक्तिले सार्वजनिक पद धारण गरेको भए निजलाई थप ३ वर्ष कैद हुनेछ ।

आदिलले गत वर्ष अमेरिकाविरुद्धको खेलबाट एकदिवसीय राष्ट्रिय टिम र पपुवा न्युगिनीविरुद्धको खेलबाट टी–२० टिममा डेब्यू गरेका थिए । मेहबुब भने नेपालका चर्चित अलराउन्डर हुन् ।