फाइल तस्वीर
कास्की — नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्व. त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको छ । सङ्घका कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा आज सोमबार बसेको बैठकले पौडेलको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो ।

पत्रकार महासङ्घ गण्डकीका महासचिव गोविन्द सुवेदीका अनुसार महासङ्घ गण्डकीले पाँच लाख रुपैयाँ तत्काल कोषमा राख्ने र बाँकी पाँच लाख प्रदेश अन्तर्गतका जिल्ला शाखा र शुभचिन्तकसँग समन्वय गरेर जुटाउने भएको छ ।

हरेक वर्ष स्वर्गीय पौडेलको स्मृतिमा ‘संस्थापक अध्यक्ष त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ । पुरस्कारका लागि आवश्यक थप कार्यविधि पनि बनाइने जनाइएको छ ।

यसैबीच पत्रकार महासङ्घ गण्डकीले आजै स्वर्गीय पौडेलको निवासमा पुगेर श्रद्धाञ्जलिसभा गरेको छ । श्रद्धाञ्जलि सभामा कावा अध्यक्ष शर्माले गण्डकी प्रदेश मात्र नभइ सिङ्गो पत्रकारिताको क्षेत्रमा उहाँको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पौडेलेको माघ १ गते पोखराको सेती नदीको खोंचमा भएको यति एयरलायन्सको जहाज दुर्घटनामा परी निधन भएको थियो ।

दुई दशकदेखि पत्रकारिता क्षेत्रमा आवद्ध स्व. पौडेल नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य र पत्रकार महासङ्घ गण्डकीको सल्लाहकारसमेत हुनुहुन्थ्यो । उहाँले पोखरा हटलाइन दैनिक, रेडियो अन्नपूर्ण र नेपाल टेलिभिजनलगायतका मिडियामा काम गरिसक्नुभएको थियो । पछिल्लो समय पोखरा हटलाइन दैनिकको प्रकाशक÷सम्पादक हुनुहुन्थ्यो ।