काठमाडौं – वाणिज्य बैंकहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको हो ।

प्रकाशित विवरणअनुसार अधिकांश बैंकहरुको नाफा प्रभावित देखिएको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमध्ये अधिकांशको नाफा गत आर्थिक वर्षको तुलनामा घट्न पुगेको देखिएको छ । खराब कर्जा बढ्दा बैंकहरुको नाफा घट्न पुगेको प्रकाशित वित्तीय विवरणले जनाएको छ ।
कुन बैंकको नाफा कति ?
दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्ने २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने बैंकमा नबिल बैंक रहेको छ । बैंकले पुष मसान्तसम्म ३ अर्ब ४१ करोड नाफा आर्जन गरेको छ । बैंकले नाफा गत आवको तुलनामा ५६ दशमलव ६७ प्रतिशतले बढेको हो ।

त्यस्तै ,नबिललाई पच्छ्याउँदै एनआइसी एशियाले पनि ३ अर्ब २७ करोड नाफा आर्जन गरेको छ । साथै बीओकेलाई प्राप्ति गरेको ग्लोबल आइएमई बैंकले पनि सो अवधिसम्म २ अर्ब ७८ करोड खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ७१ करोड, एनएमबि बैंकको १ अर्ब ९० करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ७५ करोड, प्राइम कमर्सियल बैंकको १ अर्ब ६५ करोड, एभरेष्ट बैंकको १ अर्ब ५८ करोड, सानिमा बैंकको १ अर्ब २८ करोड, प्रभुृ बैंकको १ अर्ब १९ करोड, नेपाल एसबिआई बैंकको १ अर्ब १७ करोड, नेपाल बैंकको १ अर्ब १७ करोड, सिद्धार्थ बैंकको १ अर्ब १६ करोड, लक्ष्मी बैंकको १ अर्ब ७ करोड र माछापुच्छ्रे बैंकको १ अर्ब २ करोड रुपैयाँ नाफा रहेको छ ।

नबिल बैंक
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले ३ अर्ब ४१ करोड ७६ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । बैंकले गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा करिब ५७ प्रतिशत बढी खुद नाफा गरेको हो । गत वर्ष यस अवधिसम्म बैंकले २ अर्ब १८ करोड १४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष बैंकको सञ्चालन नाफा ५६ प्रतिशत बढेको छ । गत वर्ष ३ अर्ब ११ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष ४ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड १३ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा वितरणयोग्य नाफा भने घटेको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४५ करोड रूपैयाँभन्दा बढी रहेको थियो ।

१८ दशमलव ५० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्तापूँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ पुगेको छ । रिटेन्ड अर्निग १ अर्ब २४ करोड ५१ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम २५ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी छ । बैंकले गत वर्षभन्दा यस वर्ष साढे ६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १७ प्रतिशतभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

यस वर्ष ३ खर्ब ४७ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ५१ करोड ६४ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । बैंकको निष्क्रिय कर्जा भने गत वर्षभन्दा यस वर्ष बढी भएको छ । गत वर्ष १ दशमलव ११ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९८ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म नबिलको प्रतिशेयर आम्दानी २५ रूपैयाँ ३३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९९ रूपैयाँ १२ पैसा छ ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकले यस अवधिसम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो ।

एनआईसी एशियाले प्रतिशेयर ५६ रुपैयाँ ७७ पैसा कमाएको छ । यस अवधिसम्ममा बैंकको कुल बजार रकम २ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । निक्षेप ३ खर्ब ८ अर्ब रुपैयाँ रहेको उक्त विवरणमा उल्लेख छ ।

एनएमबि बैंक

एनएमबि बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ प्रतिशतले नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको यस अवधिमा १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन ११.११ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले पुससम्ममा ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।

नेपाल बैंक
नेपाल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खुद नाफा १७.०२ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले दुई खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यसका साथै बैंकले यस अवधिमा एक खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

सिभिल बैंक

सिभिल बैंकले चालू आर्थिक वर्षको ६ महिनामा ६३ करोड ७० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिको भन्दा बैंकको खुद नाफा २६ दशमलव ३९ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिमा बैंकले ५० करोड ४० लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको सञ्चालन नाफा साढे २८ प्रतिशत बढेको छ । गत वर्ष ७३ करोड २२ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा यस वर्ष ९४ करोड ९ लाख रूपैयाँभन्दा बढी भएको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंकको चुक्तापूँँजी ९ अ र्ब ७ करोड ५८ लाख ४४ हजार रूपैयाँ छ ।

रिटेन्ड अर्निग ४३ करोड ९७ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ८२ करोड ३९ लाख रूपैयाँभन्दा बढी छ । यस वर्ष बैंकको निक्षेप संकलन शून्य दशमलव २३ प्रतिशत र कर्जा प्रवाह १ दशमलव २७ प्रतिशत बढेको छ । बैंकले ९४ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ८४ अर्ब ८ करोड १७ लाख रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

बैंकको निष्क्रिय कर्जा गत वर्ष शून्य दशमलव ९४ प्रतिशत रहेकोमा यस वर्ष २ दशमलव ४१ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १४ रूपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रूपैयाँ ९६ पैसा छ ।

प्रभु बैंक

प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १९ करोड ९९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गरी पुस २६ गतेदेखि एकिकृत कारोबार गरेको यस बैंकको खुद नाफा गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा करिब ५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब २६ करोड २० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको सञ्चालन नाफा साढे १२ प्रतिशत घट्दा खुद नाफामा असर परेको हो । गत वर्ष १ अर्ब ८६ करोड ८१ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ६३ करोड ४१ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

हाल बैंकको चुक्तापूँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रहेको छ । जगेडा कोष रकम भने ९ अर्ब ८ करोड रूपैयाँभन्दा बढी रहेको छ । बैंकको निक्षेप संकलन गत वर्षकोभन्दा ५१ दशमलव ६५ प्रतिशत बढी र कर्जा प्रवाह ६८ दशमलव ७९ प्रतिशत बढी भएको छ । यस वर्ष बैंकले २ खर्ब ७० अर्ब ९२ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने २ खर्ब ४५ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

गत वर्ष १ दशमलव २३ प्रतिशत रहेको निष्क्रिय कर्जा अुनपात यस वर्ष १ दशमलव ९८ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १० रूपैयाँ १९ पैसा रहेको यस बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ १२ पैसा छ ।

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा एक अर्ब २ करोड रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको यहि अवधिमा बैंकले एक अर्ब १ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने एक अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकले पुस मसान्त सम्ममा एक खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

दोस्रो त्रैमाससम्ममा बैंकले २ अर्ब २९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ रुपैयाँ ब्याज आम्दानी गरेको थियो । हाल १० अर्ब २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ भने खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ३२ दशमलव ११ प्रतिशत कम नाफा कमाएको छ । गत वर्ष १ अर्ब २३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष ८४ करोड १३ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको हो ।

यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष ७ करोड २३ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ६१ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको हो । यसका कारण गत वर्ष १ अर्ब ६९ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष २९ दशमलव ७१ प्रतिशत कम १ अर्ब १९ करोड १९ लाख रूपैयाँभन्दा बढी मात्र सञ्चालन नाफा गरेको हो ।

कर समेत ९ प्रतिशत नगद लाभांश गत वर्षको मुनाफाबाट वितरण गरेको यस बैंकको चुक्तापूँजी हाल १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म ५ करोड ५७ लाख रूपैयाँभन्दा बढी रहेको छ । रिटेन्ड अर्निग १० करोड ७१ लाख रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम ५ अर्ब ६४ करोड ७२ लाख रूपैयाँभन्दा बढी रहेको छ । बैंकले यस वर्ष गत वर्षभन्दा ४ दशमलव ३७ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ५ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ ।

यस वर्ष १ खर्ब ५९ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ३८ अर्ब ५७ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । बैंकको निष्क्रिय कर्जा अुनपात गत वर्षभन्दा बढेको छ । गत वर्ष १ दशमलव ८७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष २ दशमलव ९९ प्रतिशत पुगेको हो । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी ११ रूपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४० रूपैयाँ ५२ पैसा छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षको यसै अवधिको तुलनामा ६१ दशमलव ३६ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष १ अर्ब ८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको यस बैंकले यो वर्ष १ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । दोस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा भने १ अर्ब रूपैयाँभन्दा बढी रहेको छ ।

गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ७५ करोड ४६ लाख रूपैयाँभन्दा बढी थियो । यस वर्ष बैंकको सञ्चालन नाफा भने गत वर्षभन्दा करिब ६२ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब ५५ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष २ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

यस वर्ष बैंकले गत वर्षको मुनाफाबाट १६ दशमलव ५१ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको छ । यसर्थ बैंकको चुक्तापूँजीमा कुनै परिवर्तन भएको छैन् । बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ कायम रहेको हो । बैंकको रिटेन्ड अर्निग २ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ६ अर्ब ६३ करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा करिब १० प्रतिशत बढी निक्षेप संकलन गरेको बैंकले २ दशमलव ३२ प्रतिशत बढी मात्र कर्जा प्रवाह गरेको छ ।

बैंकले १ खर्ब २ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ८१ अर्ब ३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । गत वर्ष शून्य दशमलव ४४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा यस वर्ष बढेर शून्य दशमलव ७२ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी ३७ रूपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १९५ रूपैयाँ ७३ पैसा छ ।

एभरेष्ट बैंक

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडले १ अर्ब ५८ करोड ८० लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा बैंकको खुद नाफा ८९ दशमलव २९ प्रतिशत बढी भएको हो । गत वर्षको दोस्रो त्रैमाससम्म बैंकले ८३ करोड ८९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष बैंकको सञ्चालन नाफा ८९ दशमलव २० प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब १९ करोड रूपैयाँभन्दा बढी रहेको बैंकको सञ्चालन नाफा यस वर्ष २ अर्ब २६ करोड रूपैयाँभन्दा बढी भएको हो । बैंकको दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने २ अर्ब ८४ करोड ६९ लाख रूपैयाँभन्दा बढी रहेको छ । १३ प्रतिशत बोनस शेयर मार्फत बैंकको चुक्तापूँजी बृद्धि भई १० अर्ब ६९ करोड ८० लाख रूपैयाँभन्दा बढी कायम भएको छ ।

बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ९ अर्ब ९० करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकले ४ दशमलव ६६ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने साढे ८ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । बैंकले १ खर्ब ८० अर्ब ७९ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने १ खर्ब ५७ अर्ब ९२ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

गत वर्ष शून्य दशमलव २६ रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ५५ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी २९ रूपैयाँ ६९ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २२१ रूपैयाँ ३९ पैसा छ ।

सानिमा बैंक

सानिमा बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब २८ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष १९ दशमलव ३४ प्रतिशत बढी खुद नाफा गरेको हो ।

बैंकको वितरणयोग्य नाफा यस अवधिसम्म ९६ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ५७ करोड ८२ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।

गत वर्षभन्दा यस वर्ष बैंकको सञ्चालन नाफा २१ दशमलव ४२ प्रतिशत बढेको छ । गत वर्ष १ अर्ब ५० करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष १ अर्ब ८२ करोड रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो ।

१० प्रतिशत बोनस शेयरपछि बैंकको चुक्तापूँजी १२ अर्ब ४६ करोड १ लाख १५ हजार रूपैयाँ पुगेको छ । बैंकको रिटेन्ड अर्निग ९६ करोड ३७ लाख रूपैयाँभन्दा बढी र जगेडा कोष रकम ४ अर्ब ६२ करोड रूपैयाँभन्दा बढी रहेको छ । गत वर्षभन्दा यस वर्ष बैंकले १ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने ५ दशमलव २९ प्रतिशत कर्जा प्रवाह गरेको छ । १ खर्ब ५९ अर्ब २० करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले १ खर्ब ४३ अर्ब ७३ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो ।

गत वर्ष शून्य दशमलव ३१ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष शून्य दशमलव ७७ प्रतिशत पुगेको छ । दोस्रो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २० रूपैयाँ ६३ पैसा र प्रतिशेयर नेटवर्थ १४४ रूपैयाँ ८२ पैसा छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकको नाफामा ३१ प्रतिशत भन्दा बढीले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा बैंकको खुद नाफा १ अर्ब ७ करोड ७१ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसैअवधिमा बैंकले ८१ करोड ७३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको सञ्चालन नाफा पनि ३१ दशमलव ९१ प्रतिशतले बढेको छ । बैंकको सञ्चालन नाफा पनि ३१ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ४९ करोड ३१ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसका साथै खुद ब्याज आम्दानी ७२ प्रतिशतले बढेर २ अर्ब ७६ करोड ४८ लाख ४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४९ करोड ७० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

प्राइम बैंक

प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी २७ दशमलव ९६ प्रतिशतले सुधार भएको छ । यसअवधिमा बैंकको सञ्चालन नाफा २ दशमलव ०१ प्रतिशतले घटेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको खराब बढेर २ दशमलव ८१ प्रतिशत पुगेको छ । गत वर्ष यसै अवधिमा भने ० दशमलव ७८ प्रतिशत मात्र रहेको थियो । बैंकको प्रतिशेयर आम्दानी ९६ पैसाले घटेर १७ रुपैयाँ ३ पैसा कायम भएको छ ।

सनराइज बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सनराइज बैंकले खुद नाफा ६५ करोड ३९ लाख रुपैयाँ कमाएको छ । गत वर्ष बैंकले ७४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालू आवको पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा २२ करोड १८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्ष यसको वितरण योग्य नाफा १० करोड ११ लाख रुपैयाँ थियो ।

बैंकको सञ्चालन नाफा १२ दशमलव २८ प्रतिशतले घटेको छ । हाल यसको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८१ पैसाले घटेर १२ रुपैयाँ ९३ पैसामा झरेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले खुद नाफामा १ अर्ब १७ करोड ९१ लाख ९४ हजार रुपैयाँ कमाएको छ । गत आर्थिक वर्षको साहि अवधिमा बैंकले ७८ करोड २७ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड ३५ लाख रुपैयाँ रहेको छ । खुद नाफामा वृद्धि भएपछि प्रतिशेयर आम्दानी पनि ८ रुपैयाँ ३ पैसाले बढेर २३ रुपैयाँ ९६ पैसा पुगेको छ ।

हिमालयन बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको खुद नाफा २८ दशमलव ४२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकले ९५ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा यसले ७४ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी ९० दशमलव ३९ प्रतिशतले बढेके छ भने सञ्चालन नाफा ३० दशमलव ८० प्रतिशतले बढेको छ । बैंकको चुक्ता पुँजी १४ अर्ब ६२ लाख रुपैयाँ रहेको छ । यसका साथै पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ८ करोड ७२ लाख रुपैयाँ छ ।

सिद्धार्थ बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंकको नाफा २६ दशमलव ३८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको नाफा १ अर्ब १६ करोड ११ लाख ९९ हजारमा सिमित भएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ५७ करोड ७३ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेकोको थियो ।

यस अवधिमा बैंकले ३ अर्ब ६९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड ७२ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसका साथै बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकले २ खर्ब ५ अर्ब १२ करोड ९१ लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरेकोछ भने १ खर्ब ७७ अर्ब ६० करोड १६ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५३ पैसा रहेको छ ।

कुमारी बैंक

चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्ममा कुमारी बैंकको खुद नाफा ६ प्रतिशत बढेको छ । यस अवधिमा बैंकले एक अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ६१ दशमलव ६४ प्रतिशत बढेर ४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । यसका साथै सञ्चालन नाफा १५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ । निक्षेप संकलन २ खर्ब ९९ अर्ब रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सीडी रेसियो ८९ दशमलव ५८ प्रतिशत रहेको छ ।

कृषि विकास बैंक

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा कृषि विकास बैंकको १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ० दशमलव ५३ प्रतिशत घटेर ३ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई बैंक

चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्ममा ग्लोबल आइएमई बैंकले २ अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड ९१ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकले ६ अर्ब ५४ करोड ३० लाख ८९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ बैंकको सञ्चालन नाफा ३ अर्ब ७९ करोड ४५ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा बैंकको नाफा ५२ दशमलव ८८ प्रतिशतले बढेको छ ।

चालू आवको दोस्रो त्रैमासम्ममा बैंकले २ अर्ब ७१ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोहि अवधिमा बैंकले एक अर्ब ७७ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।