साङ्केतिक तस्वीर
जनकपुरधाम — धनुषाको जनकपुरधामका दुई युवाको अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको भारतमा हत्या भएको हो ।

उनीहरु दुवैजना गत पुस २७ गतेदेखि बेपत्ता थिए । सम्पर्कविहीन भएका उनीहरु एउटै परिवारका हुन् । रोहित र विष्णु भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने एक नातेदारको घर गएका थिए । गत सोमबार विष्णुका परिवारलाई भारतीय नम्बरबाट अपहरणकारीले ५० लाख रुपैयाँ माग गरेका थिए । तर विष्णुको परिवार अपहरणकारीलाई २० लाख रुपैयाँ दिन सहमत भएको उनको परिवारका एक सदस्यले बताए ।

अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलङ्गवा नजिक नेपाल–भारत सीमा क्षेत्रमा बोलाएका थिए । यसबारे विष्णुको परिवारले प्रहरीलाई जानकारी गराएको थियो । ‘हामीले यसबारे भारतीय प्रहरीलाई खबर गर्‍यौं ’, धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले भन्नुभयो– ‘भारतीय प्रहरीले दुई शव भेटेपछि आज हामीलाई खबर गरेको हो ।’

भारत बिहारको सीतामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको डिएसपी क्षेत्रीले बताउनुभयो । हत्यामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको डिएसपी क्षेत्रीले बताउनुभयो ।