पत्रपत्रिकाबाट

काठमाडौं — बाँकेको खजुरा गाउँपालिकाको एउटा वडाले २० वर्षपछि विवाह गर्नेलाई सिलिन्डर सेट उपहार दिने निर्णय गरेको छ । मधेसी, मुस्लिम समुदायको बाक्लो बसोबास रहेको वडा नं. ५ ले यस्तो निर्णय गरेको हो । वडाध्यक्ष गरिवे शेषले बालविवाह रोकथाम गर्न यस्तो उपहारको योजना ल्याएको बताए ।

’हाम्रो वडामा बालविवाह अलि बढी नै छ । त्यसको रोकथामका लागि हामीले सिलिन्डर सेट उपहार योजना ल्याएका छौं’, वडाध्यक्ष शेषले भने– ’यो योजनाले बालविवाह रोकथाममा सहयोग पुयाउने आशा गरेका छौं ।’ वडाले माघ ३ गतेपछि २० वर्ष उमेर पुगेर विवाह गरेकालाई यस्तो उपहार दिने बताएको छ ।

उमेर पुगेर विवाह गरेकाले नागरिकता, विवाह हुने प्रमाण, उमेर खुल्ने प्रमाण ( दुलाहा दुलही दुवैको) पेस गर्नुपर्नेछ। यो उपहार योजना वडा नं. ५ का स्थायी बासिन्दाका लागि मात्रै लागू गरिएको छ । बाँकेको मधेसी, मुस्लिम बस्तीमा बालविवाह बढी हुने गरेको छ । (आजको नेपाल समाचार पत्र दैनिकबाट)