कर्णाली — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । शुक्रबार दिउँसो बस्ने बस्ने प्रदेशसभाको बैठकमा उनले आफ्नो सरकारलाई विश्वासको मत दिइयोस् भन्ने प्रस्ताव राख्ने छन् ।

गठबन्धनबाट मुख्यमन्त्री बनेकाले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार उनले शुक्रबार विश्वासको मत लिन लागेका हुन् । शर्मा २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शर्मा एमालेलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

४० सदस्यीय प्रदेशसभामा उनको समर्थनमा २५ जना सांसद छन् । १४ सांसद रहेको कांग्रेसले भने उनलाई विश्वासको मत दिने वा नदिने विषय निर्णय गरिसकेको छैन । अन्य प्रदेशमा माओवादीबाट मुख्यमन्त्री बनेकाहरूलाई कांग्रेसले विश्वासको मत दिइरहेको छ । विश्वासको मत लिएपछि उनले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।