फाइल तस्वीर
दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिनुहुने कार्यक्रम छ । आज बिहिबार दिउँसो एक बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिन लाग्नु भएको हो ।

पुस २७ गते प्रदेशसभाका ५८ जना सांसद्हरुको समर्थनमा गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, जनमत पार्टीका तीन जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना र स्वतन्त्र दुई जनाको समर्थन रहेको छ ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने १० मध्ये सात दलका ५६ जना र दुई स्वतन्त्र गरी ५८ सांसद्को समर्थनमा मुख्यमन्त्री बन्नुभएका गिरीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । कुल ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सीट आवश्यक पर्छ ।

सत्तापक्षको स्पष्ट बहुमत रहेको हुँदा मुख्यमन्त्री गिरीलाई विश्वासको मत लिन कुनै समस्या देखिंदैन । उहाँले सहजै विश्वासको मत प्राप्त गर्नुुहुनेछ ।