धनगढी – सुदूरपश्चिम प्रदेशसभाको सभामुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का भीम भण्डारी निर्वाचित हुनुभएको छ । आज मङ्गलबार बिहान भएको मतदानबाट माओवादी केन्द्रका भण्डारी सभामुखमा निर्वाचित हुनुभएको हो ।

नवनिर्वाचित भण्डारीले २९ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँको विपक्षमा २३ मत परेको छ । ५३ सदस्यीय प्रदेशसभा मतदानमा ५२ जना सहभागी हुनुभएको थियो ।

यसअघि सुदूरुपश्चिम प्रदेशसभाले प्रमुख विपक्षी नेपाली काङ्ग्रेसका मानबहादुर रावललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । सभामुख चयनका लागि आज तेस्रो पटक चुनाव भएको हो । यसअघि २८ पुस र ३० पुसमा भएको निर्वाचनबाट कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि सभामुख चयन हुन सकेको थिएन ।

२८ पुसमा भएको निर्वाचनमा नागरिक उन्मुक्ति र एमालेका एक–एक सांसद अनुपस्थित र एउटा मत बदर भएपछि भण्डारीलाई बहुमत पुगेको थिएन । ३० पुसमा भएको चुनावमा नागरिक उन्मुक्ति तटस्थ बसेको थियो । आज बिहान भएको मतदानबाट माओवादी केन्द्रका भण्डारी सभामुखमा निर्वाचित हुनुभएको हो ।