हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेलले आज संसदबाट विश्वासको मत लिने हुनुभएको हो ।

मुख्यमन्त्री जम्मकट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे छलफलका लागि आज दिउँसो १२:३० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।

जम्कट्टेल गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त हुनुभएको हो । २५ गते नियुक्त हुुनुभएका मुख्यमन्त्री जम्मकट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हाल्नुभएको थियो ।

११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन रहेको छ । ३७ सिट रहेको नेपाली काङ्ग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन गरेको छैन ।

यस अवस्थामा मुख्यमन्त्री जम्मकट्टलले सहजै विश्वासको मत पाउनुहुने देखिन्छ ।