फाइल तस्वीर
पोखरा — गण्डकी प्रदेशको प्रदेशसभाको उपसभामुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद् विनाकुमारी थापा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएकी थापाले ३२ मत ल्याएर विजयी हुनुभएको हो ।

सत्ता गठबन्धनका दलहरु नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्रपाको गठबन्धन भएको यस प्रदेशसभामा थापाले ३२ मत प्राप्त हुनुभएको थियो । काङ्ग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी सांसद् पार्वती तामाङको पक्षमा भने २६ मत परेको थियो । गण्डकी प्रदेशमा २७ सांसद् रहेको काङ्ग्रेसको टिकाकुमारी बस्याल भने मतदानमा अनुपस्थित रहनु भएको थियो ।

गण्डकीमा नेकपा एमालेका २२ जना, माओवादी केन्द्र ७ (सभामुख बाहेक) जना र राप्रपाका दुई सांसद छन् । स्वतन्त्र निर्वाचित दिपक मनाङेले पनि उपसभामुखमा एमालेकै उम्मेदवारलाई मत हाल्नु भएको थियो ।

गण्डकी प्रदेशको सभामुखका लागि शनिबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित हुनुभएको थियो । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी, सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल र उपसभामुखमा एमालेकी विनाकुमारी थापा हुनुहुन्छ ।