पोखरा — गण्डकी प्रदेश सभामा आज उपसभामुखको निर्वाचन हुँदैछ । उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली काङ्ग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी रहेको छ ।

सभामुखमा भने नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भइसक्नुभएको छ । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत रहेकोले भागवण्डामा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भइसकेको छ । गण्डकी प्रदेश सभामा नेपाली काङ्ग्रेसका २७ जना, एमालेका २२ जना, माओवादीका ८ जना, राप्रपाका २ जना र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे रहनुहुन्छ ।

आज सोमबारको प्रदेशसभा बैठकले आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव पारित गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।