फाइल तस्वीर
धनगढी — सुदूरपश्चिम प्रदेशको प्रदेशसभाका सभामुख र उपसभामुख चयन आज हुनेभएको छ । नेपालको संविधानमा उल्लेख भएअनुसार सभामुख र उपसभामुख चयन गर्ने अन्तिम समयसीमा आज सोमबार सकिने हुँदा उक्त पदहरुको टुङ्गो लगाउने तयारी भएको हो ।
सुदूरपश्चिम प्रदेशमा सभामुखको लागि भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक मत पाउन नसक्दा अन्योलता थपिएको छ । दुई ÷दुई पटकसम्म भएको निर्वाचनमा आवश्यक बहुमत नपाउँदा प्रदेशसभाले अहिलेसम्म सभामुख र उपसभामुख पाउन सकेको छैन ।

सभामुख चयन हुन नसक्दा प्रदेशसभाले उपसभामुख पनि पाएको छैन । सभामुख चयनका लागि आज बिहान ९ बजे पुनः प्रदेश सभाको बैठक बोलाइएको छ । हिजो पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति दुःख व्यक्त गर्दै सरकारले शोक बिदा दिए पनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता रहेको छ । त्यसैलै आज उक्त प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुसँग छलफल गरी निकास दिन बिहानै सर्वदलीय बैठक बोलाइएको छ ।

सर्वदलीय बैठकमा सभामुख र उपसभामुख चयनका विषयमा छलफल गरेर प्रदेशसभा बैठक सञ्चालन गर्ने तयारी छ । सभामुख चयनका लागि २८ पुसमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका भीम भण्डारीले २६ र काङ्ग्रेसका मानबहादुर रावलले २३ मत प्राप्त गरेका थिए । सभामुखमा निर्वाचित हुन २७ मत आवश्यक पर्छ ।

पुस ३० गते भएको पुनः मतदानमा भने दुवै उम्मेदवारले २२÷२२ मत पाएका थिए । सत्तारुढ गठबन्धनको निर्णायक घटक नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा ३० गते पनि कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि सभामुख चयनमा जटिलता उत्पन्न भएको हो ।

नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेको अवस्थामा सोमबारको मतदानले पनि सभामुख चयन गर्न सक्ने छैन । तर नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता रामेश्वर चौधरीले संसदीय दलको बैठकमा छलफल गरेर निर्णय लिइने बताएका छन् ।

संविधानको धारा १८२ को उपधारा –१) अनुसार प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हुन्छ । सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक १८ पुसमा बसेको थियो । सो अनुसार सभामुख चयन गरिसक्नुपर्ने समय आज सकिंदैछ ।

नागरिक उन्मुक्ति पार्टीले डिल्लीबजार कारागारमा रहेका आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइको माग गर्दै आएको छ । चौधरीको रिहा नगरे प्रदेशसभा बैठक चल्न नदिने यस अघिनै भनिसकेको छ ।