फाइल तस्वीर
जनकपुरधाम – मधेस प्रदेशको सभामुखको लागि आज शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । प्रदेशसभाको सभामुख लागि बिहान ११ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएसँगै आज उक्त पदको लागि उम्मेदवारी दर्ता हुन लागेको हो ।

दलहरुले प्रस्ताव गरेको उम्मेदवारको नामावली आजै दिउँसो ३: ३० बजे प्रशकाशन हुने निर्वाचन तालिकामा उल्लेख छ । सभामुखका लागि प्रस्ताव गरिएका नामहरु माघ २ गते सोमबार बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिने भएको छ । मधेस प्रदेशको सभामुखमा नेपाल कम्युनिस्ट पार्टी एमालेले प्रदेशसभा सदस्य रामचन्द्र मण्डलको नाम प्रस्तुत गर्ने तयारी गरेको छ ।

सत्ता साझेदार दलहरुले सभामुख, उपसभामुख र मुख्यमन्त्री पदको टुङ्गो लगाएसँगै यसअघि जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव मुख्यमन्त्रीमा नियुक्त भै पदभार समेत ग्रहण गरिसक्नु भएको छ । मधेस प्रदेशमा नेकपा एमालेले सभामुख र जनमत पार्टीले उपसभामुख लिनेगरी सहमति भएको छ ।

नव नियुक्त मुख्यमन्त्री यादवले हिजो शुक्रबार कार्यभार सम्हालेसँगै थप तीन मन्त्रीले शपथ ग्रहण लिएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले माघ २ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी भएको बताइएको छ ।