फाइल तस्वीर

कास्की — गण्डकी प्रदेशको प्रदेशसभाको प्रमुखको निर्वाचन आज शनिबार हुने भएको छ । सभामुखका लागि सत्ता गठबन्धनबाट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कृष्णप्रसाद धिताल उम्मेदवार बन्नुभएको छ ।

गोरखा निर्वाचन क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित धिताललाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको हिजो शुझबार साँझ बसेको बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको सभामुख चयनका लागि आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बोलाइएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा प्रदेशसभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश सभामुख चयन गर्न शनिबार बैठक बोलाइएको हो ।

सत्ता गठबन्धनमा माओवादी केन्द्रले सभामुख पाउने निर्णय यसअघि नै भइसकेको छ। यहाँ नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी भागवण्डा भएको थियो ।

एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर हिजो प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिपक्षी दल नेपाली काङग्रेसले भने उम्मेदवार टुङ्गो लगाइसकेको छैन । काङ्ग्रेस संसदीय दलको बैठकले सभामुखको उम्मेदवार तय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।

कुल ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली काङ्ग्रेसका २७ जना नेकपा (एमाले)का २२ जना, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक प्रदेशसभा सांसद रहेका छन् ।  सांसद् धितालले सभामुखमा निर्वाचित हुन ३१ मत प्राप्त गर्नुपर्ने छ । नेपाली काङ्ग्रेसले सभामुखका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।