जनकपुरधाम – नयाँ सरकार गठन भएसँगै मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्नुभएको छ । आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।


पदभार ग्रहण गर्दै उहाँले एक साताभित्र मन्त्रीपरिषद् विस्तार गर्ने र विश्वासको मत लिने बताउनुभयो । आज जनकपुरमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिनुभएका मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् विस्तार गरी आजै तीन प्रदेश सांसदलाई मन्त्रीमासमेत नियुक्त गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

जसअनुसार मुख्यमन्त्री यादवले नेकपा एमालेका सरोज यादव, जसपाका सञ्जय यादव र जनमत पार्टीका वसन्त कुशवाहालाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो । तत्कालका लागि तीनै जना बिना विभागीयको रहनुभएको छ । मुख्यमन्त्री यादवका अनुसार उहाँहरूलाई पछि जिम्मेवारी तोकिने छ ।