बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाउनुभएको हो ।

लगत्तै शेरचनले दुई जना विना विभागीय मन्त्रीलाई पनि शपथ गराउनुभएको छ । मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गर्नुभएको थियो । यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुङ्गो नलागेपछि उहाँले विना विभागीय मन्त्री बन्न इन्कार गर्नुभएको हो ।

रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री गिरीले मन्त्रिपरिषद विस्तार गर्न थप समय लाग्ने बताउनुभएको छ ।