फाइल तस्वीर
पोखरा – गण्डकी प्रदेशसभाको सभामुखको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसद् कृष्ण धितालले पाउने हुनुभएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारी नियुक्त हुनुभएपछि माओवादी केन्द्रको तर्फबाट धिताल सभामुख बन्न लाग्नु भएको हो ।
दलको नेता बनेर मन्त्री हुने योजनामा रहनु भएका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि उहाँलाई सभामुखको जिम्मेवारी दिन लागिएको हो । मन्त्रीको आकाङ्क्षी देखिनु भएका धितालमाथि सभामुख बन्नु पर्ने अवस्थाको हुँदा धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताउनु भएको छ । ‘उहाँलाई सभामुख बन्नुस् भनेका छौँ । अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने, ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ ।

यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले शपथ लिइसकेका छन् । माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन् । सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ । संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भइसक्नुपर्ने व्यवस्था छ । १८ पुसमा बसेको पहिलो बैठक हिसाब गर्दा २ माघ कटाउन मिल्दैन। सकेसम्म बिदाकै दिन भए पनि बैठक बसेर सभामुख चयन गरिने संसद् सचिवालयले जनाएको छ । यद्यपि दलहरूबिच बैठक बस्न बाँकी रहेको बताइएको छ । धिताल गोरखा १ (१) बाट निर्वाचित हुनुभएको हो ।