फाइल तस्वीर
बागलुङ — बागलुङ नगरपालिका–३ बोक्सेका मोतिलाल सापकोटा ७४ वर्ष पुग्नुभयो । उमेरले बुढ्यौली लागे पनि उहाँमा काम गर्ने जोस, जाँगर र उत्साह भने युवाको भन्दा कम छैन । सापकोटाले व्यावसायिकरुपमा तरकारी खेती सुरु गरेको ३१ वर्ष भयो । उहाँको तरकारी खेतीप्रतिको लगाव उत्साहप्रद छ ।
तरकारी खेतीबाट सापकोटाले लाखौँ रुपैयाँको सम्पत्ति जोडिसक्नुभएको छ । उहाँले छ भाइबहिनी, छोराछोरी हुर्काउने, पढाउने र विवाहसमेत तरकारी खेतीकै आम्दानीले गर्नुभयो । बिहानै उहाँ बागलुङ बजारमा तरकारी बिक्री गर्न आउनुहुन्छ । ‘मसित पुख्र्याैली सम्पत्ति थिएन, वर्षौं अरुको घरमा बसेर काम गरेँ, तरकारी खेतीमा लागेपछि घर सम्पत्ति जोडेँ’, सापकोटाले भन्नुभयो ।
पहिला तरकारी खेती गर्ने चलन थिएन । उत्पादन भएको तरकारी पनि बिक्री हुँदैनथ्यो । ‘अहिले उत्पादन गरेको सबै बिक्री हुन थालेको छ, बजारमा तरकारीको माग बढ्दै गएको छ’, उहाँले भन्नुभयो । ‘हातखुट्टा चल्दासम्म तरकारी उत्पादन गर्छ’ु, उहाँले भन्नुभयो । रु. तीन लाखदेखि रु. पाँच लाखसम्म वर्षमा तरकारी बिक्रीबाट कमाइ हुने गरेको सापकोटाको भनाइ छ । तरकारी खेतीले सापकोटा परिवारको जीवनशैलीनै बदलिएको छ । बिहान तरकारी बेच्न बजार पुग्ने र दिउँसो साँझ बारीमा काम गर्ने आफ्नो दैनिकी भएको सापकोटाले बताउनुभयो ।
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले सापकोटालाई समय–समयमा अनुदानसँगै प्राविधिक सहयोग गर्दै आएको बताउनुभयो । उहाँलाई नयाँ प्रबिधिसँग जोड्नका लागि तालिम, परामर्श र सुझाव दिँदै आएको पुनको भनाइ छ । कृषि ज्ञान केन्द्रले गत वर्ष उहाँलाई रु दुई लाख अनुदानसमेत दिएको पुनले बताउनुभयो । रासस