बुटवल – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ । हिजो बुधबार मुख्यमन्त्री नियुक्ति हुनुभएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउन लाग्नुभएको हो । उहाँले प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे शपथग्रहण गर्नुहुने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ती, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ ।

शपथग्रहणलगत्तै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने मुख्यमन्त्री गिरीको तयारी छ । लुम्बिनी प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद बनाउने एमाले र माओवादी केन्द्रबीच समझदारी छ । अघिल्लो मन्त्रिपरिषद् १७ सदस्यीय रहेकोमा यसलाई घटाएर ११ बनाउन लागिएको बताइएको छ ।