फाइल तस्वीर
सुर्खेत – कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेस गर्नु अघि यी दुई कम्युनिस्ट घटकबीच आलोपालो सरकारको नेतृत्व गर्न सहमति जुटेको हो ।

नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताएअनुसार माओवादी केन्द्र र एमालेबीच आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने र पहिलो अढाई वर्षे कार्यकाल माओवादी केन्द्रले सरकारको नेतृत्व गर्ने सहमति भएको छ । बाँकी आधा कार्यकालमा एमालेले सरकारको नेतृत्व गर्ने गरी सहमति जुटेको छ ।

माओवादी केन्द्र र एमालेबीच यस्तो सहमति भएसँगै मुख्यमन्त्रीमा माओवादी केन्द्रबाट राजकुमार शर्माले दावी पेश गर्नुहुने भएको छ । माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता शर्माले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दावी पेस गर्ने सम्भावना छ ।