काठमाडौं — नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । त्रिवि क्रिकेट मैदानमा आज बुधबार भएको फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनीले उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनलमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन मात्र जोड्न सक्यो । विराटनगरका लागि अर्जून साउदले सर्वाधिक ३४ रन तथा पृथु बास्कोटाले ३१ रन बनाए । लुम्बिनीका सागर ढकाल र हरमित सिंहले २–२ तथा विपुल शर्मा र किशोर महतोले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । लुम्बिनीका लागि लाहिरु मिलान्थाले ४१, हरमित सिंहले ३० तथा कप्तान दिपेन्द्र सिंह ऐरीले २० रन बनाए । विराटनगरका लागि राज ननन र नन्दन यादवले २–२ विकेट तथा हुसेन तलत, केयोन जोसेफ, सूर्य तामाङ र रोहित पौडेलले एक–एक विकेट लिए ।