हेटौंडा – बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज शपथग्रहण लिदैं हुनुहुन्छ । हिजो बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शपथग्रहण गराउन लाग्नुभएको हो ।
अहिले बिहान ९.३० बजे मुख्यमन्त्री जम्कट्टेललाई शपथ गराउने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री जम्कट्टेलले शपथग्रहणलगत्तै दुई सदस्यीय मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गर्नुभएको छ । उहाँले नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्वव थापालाई शपथ गराउनु हुनेछ । थपलिया अर्थ मन्त्रालय सम्हाल्ने गरी सरकारमा जान लाग्नुभएको हो भने थापाको मन्त्रालय अझै टुङ्गो लागेको छैन ।
सुरुमा सानो मन्त्रिमण्डल बनाउन लागेका मुख्यमन्त्री जम्कट्टेलले आफूलाई समर्थन गरेको दलहरुसँगको छलफलपछि मन्त्रिमण्डललाई पुर्णता दिने जनाउनुभएको छ । ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका जम्कट्टेललाई एमाले, माओवादी र राप्रपासँगै नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन गरेको हो । मुख्यमन्त्री जम्कट्टेलले १४ वटा मन्त्रालय कटौती गरेर घटीमा नौ र बढीमा ११ कायम गर्ने बताउनुभएको छ ।