फाइल तस्वीर
दाङ – लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ । उक्त प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त हुन लाग्नु भएको हो ।

मुख्यमन्त्रीका लागि आज मङ्गलबार नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरीले दावी पेश गर्दै हुनुहुन्छ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले आज अपरान्ह मुख्यमन्त्रीमा नियुक्त गर्नुहुने छ ।

प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । तर दलहरुको सहमतिमै एक दिन अगावै आज २६ गते नै गिरीले नेकपा माओवादी केन्द्रलगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्न लाग्नु भएको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच भएको सहमति अनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिनेछ । कुल ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ । एमालेका नेता लिला गिरीलाई माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले समर्थन गरेका छन् ।

सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा धेरै नेकपा एमालेका २९ जना प्रदेशसभाका सांसद रहेका र माओवादी केन्द्रका १०, राप्रपाका चार तथा जसपा र जनमत पार्टीका तीन÷तीन जना गरी ४९ जना सांसदको समर्थन रहेको छ ।

यसैगरी उक्त प्रदेशमा काङ्ग्रेसका २७ जना, लोकतान्त्रिक समाजवादी पार्टीका तीन जना, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक जना र स्वतन्त्रबाट दुई जना सांसद छन् ।