जनकपुरधाम – जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशको संसदीय दलको नेतामा सरोज यादव निर्विरोध चयन हुनुभएको छ । दलको नेताका लागि आज सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई नै समर्थन गरेपछि उहाँ दलको नेतामा चयन हुनुभएको हो ।

दलको नेताका लागि सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख यादवले उम्मेदवारी दिनुभएको थियो मुख्यमन्त्री राउतले उम्मेदवारी फिर्ता लिने समय ३ः३० बजे सम्म रहेकोमा राउतले त्यसअघि नै यादवलाई समर्थन गर्नुभएको थियो ।

मधेस प्रदेशसभामा १६ सांसदसहित जसपा तेस्रो ठुलो दल हो । सङ्घीय सत्ता समीकरण अनुसार यस प्रदेशमा जनता समाजवादी पार्टीकै नेतृत्वमा सरकार गठन हुने भएपछि दलको नेता चयन गर्न सकस भएको थियो । सम्भवत मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवले बाजी मार्नुहुने छ ।