काठमाडौं — ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू आपसमा गाभिएर आजदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदैछ । बैंक अफ काठमाण्डूसँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको हो ।

‘मर्जर’पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्तापुँजी ३५ दशमलव ७७ अर्ब, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्ने भएको छ । दुई बैंकको मर्जर पश्चात् कुल ३९६ शाखा कार्यालय, ३६८ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा यो बैंक मुलुकको सबैभन्दा ठूलो बैंक हुने भएको हो ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमईको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बैंक अफ काठमाण्डूका तर्फबाट दुई जना रहने छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहने छन् ।