फाइल तस्वीर


मोरङ – प्रदेश १ को मुख्यमन्त्रीमा चयन हुनुभएका हिक्मत कार्कीले आज सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । एमाले प्रदेशसभा संसदीय दलका नेता कार्की हिजो आइतबार मुख्यमन्त्रीमा चयन हुनुभएको हो ।

मुख्यमन्त्री कार्कीले विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो २ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले नव नियुक्त मुख्यमन्त्री कार्कीलाई आज शपथ ग्रहण गराएपछि मुख्यमन्त्रीले आजै सानो मन्त्रिमण्डल बनाउनु हुनेछ ।

गठन गरिने सानो आकारको मन्त्रिमण्डलमा नेकपा माओवादीबाट पार्टी केन्द्रीय सदस्य समेत रहनुभएका प्रदेश सभासदस्य दुर्गाप्रसाद चापागाई, एमाले प्रदेशसभा सदस्य तिलकुमार मेन्यांग्बा, राप्रपा संसदीय दलका नेता भक्ति सिटौला र जनता समाजवादी पार्टीकी प्रदेश सभासदस्य निर्मला लिम्बूले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने हुनुभएको बताइएको छ ।

कुल ९३ प्रदेशसभा सदस्य रहेको एक नम्बर प्रदेशसभामा एमालेका ४० जना, माओवादी केन्द्रका १३ जना, राप्रपाका ६ जना र जसपाको १ जना गरी कुल ६० जना प्रदेशसभा सदस्यको समर्थनमा हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको हो ।

प्रदेशसभाको मुख्य प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका २९ जना र नेकपा एकीकृत समाजवादीका ४ जना सांसद रहेका छन् ।