फाइल तस्वीर
काठमाडौं – देशका सबै प्रदेशमा नयाँ सरकार गठन गर्ने प्रक्रिया सुरु भएको छ । गत मङ्सिर ४ गते सङ्घ र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात् केन्द्रदेखि प्रदेशसम्म नयाँ सरकार गठनगर्ने प्रक्रिया अघि बढेको हो ।

केन्द्रमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुष १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभए पछि प्रदेशहरुले पनि मुख्यमन्त्री चयन गर्ने प्रक्रिया अघि बढाएका छन् । हिजो प्रदेश एकमा एमालेका हिक्मत कार्की नियुक्त हुनुभएको थियो भने आज बागमती र गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने भएका छन् ।

बागमती र गण्डकी प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा र गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आज पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएसँगै यी दुवै प्रदेशमा मुख्यमन्त्री सहित नयाँ सरकार गठन हुनेछन् ।

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रबाट प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र गण्डकी प्रदेशमा एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने निश्चित प्राय छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबण्डा गरिँदा बागमती प्रदेशको सरकारमा पहिलो कार्यकाल माओवादी केन्द्रले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।

आज सोमबार बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमरकट्टेल र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले दाबी पेश गर्नुहुने भएको छ । आफ्नो पक्षमा बहुमत रहेको दावी पेस गरेपछि दुवै प्रदेशका प्रमुखहरुले आजै मुख्यमन्त्री पदमा नियुक्त गर्नुहुनेछ ।

देशका सात वटै प्रदेशमा केन्द्रीय सत्ता गठबन्धनको प्रभाव परेको छ । चार वटा प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री पाउने छ भने माओवादी केन्द्रको भागमा दुई वटा र मधेश प्रदेशमा मधेशवादी दलले मुख्यमन्त्री पाउने छन् ।