एजेन्सी — मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एक आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु भएको छ भने करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार बसमा गरी कम्तीमा १२५ जनाभन्दा बढी यात्रु सवार रहेका थिए ।

“यो एक गम्भीर दुर्घटनामा ४० जनाको मृत्यु भइसकेको छ भने अन्य करिब ९० जना घाइते भएका छन्,” पश्चिम अफ्रिकी देश सेनेगलका अग्नि नियन्त्रक चेख फलले भन्नुभयो । स्थानीय समयअनुसार आइतबार बिहान ३ः१५ बजे राष्ट्रिय राजमार्गमा भएको दुर्घटनापछि सबै पीडितलाई काफ्रिन अस्पताल र मेडिकल सेन्टरमा लगिएको उहाँले बताउनुभयो ।

भग्नावशेष र भत्किएका बसहरू हटाइसकिएको र सामान्य यातायात सुचारु भएको उहाँले बताउनुभयो । गभर्नर र स्थानीय अधिकारीहरूले घटनास्थलको भ्रमण गरेको उहाँले बताउनुभयो । सेनेगलमा चालकको अनुशासनहीनता, कमजोर सडक र जीर्ण सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको विज्ञहरूले बताएका छन् । यद्यपि यो हालैका वर्षहरूमा एउटै सडक दुर्घटनामा भएको सबैभन्दा धेरै मृत्यु सङ्ख्या हो ।