विराटनगर – प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नेपाल कम्युनिस्ट पार्टी एमालेका संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथ भोलि सोमबार दिउँसो २ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यका रुपमा कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

कार्कीले नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका संसदीय दलका नेताहरुको समर्थनमा आजै मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त गर्न आठ दिनको समय सीमासहित पुस १७ गते विज्ञप्तिमार्फत आह्वान गर्नुभएको थियो । आज बेलुकी ५ बजेसम्मको समय सीमाभित्रै कार्कीले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुभएको थियो ।